पूजा पोखरेल
नेपालमा रोजगारीमा शैक्षिक ज्ञान र व्यावहारिक सिपको भूमिका: एक विश्लेषणात्मक अध्ययन
पूजा पोखरेल *
१. परिचय
आजको गतिशील र प्रतिस्पर्धी युगमा शिक्षा र रोजगारीबीचको सम्बन्ध एक जटिल र महत्वपूर्ण विषय बन्दै गएको छ। नेपाल जस्तो विकासोन्मुख देशमा यो विषय विशेषरूपले प्रासंगिक छ, जहाँ युवा जनशक्ति राष्ट्रिय विकासको मुख्य आधार हो। तर, दुर्भाग्यवश, धेरै युवाहरू उच्च शिक्षा प्राप्त गरेपनि रोजगारीको अभावमा निराश र हताश छन्। यसको मुख्य कारण शैक्षिक ज्ञान र व्यावहारिक सिपबीचको ठूलो खाडल रहेको देखिन्छ। यस अनुसन्धान रिपोर्टको मुख्य उद्देश्य नेपालको शैक्षिक प्रणालीमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक योग्यता र रोजगारी बजारमा आवश्यक व्यावहारिक सिपबीचको अन्तराललाई विश्लेषण गर्नु हो।
२. पृष्ठभूमि
नेपालको शिक्षा प्रणालीको इतिहास हेर्दा, यो परम्परागत रूपमा सैद्धान्तिक ज्ञानमा केन्द्रित रहेको छ। माध्यमिक तथा उच्च शिक्षाको पाठ्यक्रममा व्यावहारिक सिपलाई न्यून प्राथमिकता दिइएको छ। विश्वव्यापी रूपमा शिक्षा र रोजगारीबीच समन्वय कायम गर्न सिपमूलक शिक्षालाई महत्व दिइन्छ। तर नेपालमा धेरै विद्यार्थीहरूले आफ्नो शैक्षिक योग्यता पूरा गरेपनि रोजगारी प्राप्त गर्ने क्रममा व्यावहारिक अनुभव र सिपको अभावले असफल हुँदै आएका छन्।
नेपालमा शिक्षाको विकास क्रममा २००० सालपछि उच्च शिक्षाको प्रसार भएतापनि रोजगारीको अवसर त्यति नै बढेको छैन। केन्द्रीय तथ्याङ्क विभागको २०७८ को जनगणना अनुसार, नेपालमा १२ लाख भन्दा बढी युवा बेरोजगार छन्, जसमध्ये धेरै जसो स्नातक र स्नातकोत्तर उतीर्ण छन्। यसले न केवल व्यक्तिगत आर्थिक समस्याहरू जन्माएको छ, बरु राष्ट्रिय अर्थतन्त्रमा पनि नकारात्मक प्रभाव पारेको छ।
विश्व बैंकको २०२२ को प्रतिवेदन अनुसार, नेपालमा स्किल डेवलपमेन्ट कार्यक्रमहरू सीमित छन् र शिक्षा प्रणालीले रोजगारीमूलक सिप विकास गर्ने क्षमता राख्दैन। यसै सन्दर्भमा, यस अनुसन्धानले शिक्षा र रोजगारीको बीचको सम्बन्धलाई गहन रूपमा विश्लेषण गर्ने प्रयास गरेको छ। अध्ययनले विशेष गरी माध्यमिक तथा उच्च शिक्षा पछि रोजगारी प्राप्त गर्ने क्रममा आउने चुनौतीहरू, शैक्षिक ज्ञान र व्यावहारिक सिपबीचको सम्बन्ध, र पाठ्यक्रममा सिप समावेश गर्ने आवश्यकतालाई केन्द्रित गरेको छ।
३. अनुसन्धानका उद्देश्यहरू
यस अनुसन्धानका मुख्य उद्देश्यहरू निम्नानुसार छन्:
- नेपालमा माध्यमिक तथा उच्च शिक्षा पछिको रोजगारी स्थितिको अध्ययन गर्नु:
यस उद्देश्यअन्तर्गत नेपालमा माध्यमिक (कक्षा ११-१२) र उच्च शिक्षा (स्नातक र स्नातकोत्तर) पछि युवाहरूको रोजगारी प्राप्त गर्ने दर, रोजगारीको प्रकार, र रोजगारी प्रक्रियामा आउने चुनौतीहरूको विश्लेषण गरिन्छ। यसबाट नेपालको रोजगारी बजारको वर्तमान अवस्था बुझ्न मद्दत हुन्छ। - शैक्षिक ज्ञान र व्यावहारिक सिपबीचको सम्बन्ध विश्लेषण गर्नु।
- विद्यार्थी, शिक्षक, अभिभावक, र व्यवसायीहरूको दृष्टिकोणबाट रोजगारी चुनौतीहरू पहिचान गर्नु
- पाठ्यक्रममा सिपमूलक शिक्षा समावेश गर्ने आवश्यकता र यसको प्रभावकारितामाथि सुझाव दिनु।
- युवाहरूमा रोजगारी प्राप्त गर्ने आत्मविश्वास र तयारी बढाउने उपायहरू सुझाव गर्नु।
- नेपालको शिक्षा प्रणाली र अन्तर्राष्ट्रिय शिक्षा प्रणालीबीचको तुलनात्मक अध्ययन गर्नु।
- रोजगारी बजारमा महिला र पुरुषको भागेदारीको विश्लेषण गर्नु
४. समस्या कथन/ अनुसन्धान प्रश्न
यस अनुसन्धानले निम्नलिखित समस्या कथन र अनुसन्धान प्रश्नहरूको उत्तर खोज्ने प्रयास गरेको छ:
- के नेपालमा माध्यमिक तथा उच्च शिक्षा प्राप्त विद्यार्थीहरूका लागि रोजगारी प्राप्त गर्न शैक्षिक ज्ञान मात्र पर्याप्त छ?
- रोजगारी बजारमा कस्ता व्यावहारिक सिपहरूको माग रहेको छ?
- पाठ्यक्रममा व्यावहारिक सिप समावेश नभएकोले विद्यार्थीहरूमा कस्ता चुनौतीहरू उत्पन्न भएका छन्?
- शिक्षा प्रणालीले कसरी रोजगारीमूलक शिक्षालाई प्रवर्द्धन गर्न सक्छ?
- विद्यार्थीहरूले पढाइसँगै कस्ता व्यावहारिक तालिमहरू लिनुपर्छ?
- रोजगारी प्राप्त गर्न आत्मविश्वास, धैर्य, र व्यवहारिक क्षमताको भूमिका के छ?
- नेपालको शिक्षा प्रणालीमा सिपमूलक शिक्षालाई किन प्राथमिकता दिइएको छैन?
५. सन्दर्भ सामग्री अध्ययन
विश्वव्यापी रूपमा, शिक्षा र रोजगारीबीचको खाडललाई पूरा गर्न सिपमूलक शिक्षालाई महत्व दिइएको छ। विश्व बैंक, युनेस्को, र अन्तर्राष्ट्रिय श्रम सङ्गठन जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले सिप विकासलाई शिक्षाको मुख्य अङ्गको रूपमा लिने सिफारिस गरेका छन्।
- जर्मनी:जर्मनीमा “डुअल एजुकेशन सिस्टम” लागू छ, जहाँ विद्यार्थीहरूले शैक्षिक ज्ञान र व्यावहारिक सिप दुवै एकै समयमा प्राप्त गर्छन्। यसले जर्मनीमा युवा बेरोजगारी दर लगभग ५% मात्र रहेको छ।
- सिङ्गापुर:सिङ्गापुरले “स्किल्स फ्यूचर” कार्यक्रम सुरू गरेको छ, जसले युवाहरूलाई उद्योगको माग अनुसारको सिपहरू सिकाउँछ। यसले सिङ्गापुरको रोजगारी दर ९०% भन्दा बढी राख्न मद्दत गरेको छ।
- भारत:भारतले “स्किल इन्डिया” अभियान सुरू गरेको छ, जसले लाखौं युवाहरूलाई व्यावहारिक सिप तालिम दिएको छ। यसले भारतमा युवा रोजगारी दर बढाउन मद्दत गरेको छ।
- शिक्षा मन्त्रालयको प्रतिवेदन (२०७९):यस प्रतिवेदन अनुसार, नेपालमा ६०% भन्दा बढी विद्यार्थीहरूले आफ्नो शैक्षिक योग्यता पछि रोजगारी प्राप्त गर्न गाह्रो महसूस गर्छन्।
- विश्व बैंकको अध्ययन (२०२२):यस अध्ययनले नेपालमा सिप विकास कार्यक्रमहरू सीमित छन् र शिक्षा प्रणालीले रोजगारीमूलक सिप विकास गर्ने क्षमता राख्दैन भनेको छ।
६. अनुसन्धान विधि
यस अनुसन्धानमा गुणात्मक अनुसन्धान विधि प्रयोग गरिएको छ। गुणात्मक विधिले अध्ययनको गहनता र विस्तारलाई बढाउँछ र विषयवस्तुको बारेमा विस्तृत जानकारी प्रदान गर्दछ।
- यस अनुसन्धानको लागि वर्णनात्मक र विश्लेषणात्मक अनुसन्धान डिजाइन प्रयोग गरिएको छ। वर्णनात्मक डिजाइनले समस्या को वर्तमान अवस्था को वर्णन गर्दछ भने विश्लेषणात्मक डिजाइनले समस्या को कारण र प्रभाव को विश्लेषण गर्दछ।
- मुख्य तथ्याङ्क सङ्कलनका लागि निम्नलिखित विधिहरू प्रयोग गरिएका छन्:
- अर्ध-संरचित साक्षात्कार विधि प्रयोग गरिएको छ।
- विभिन्न समूहहरू (विद्यार्थी, शिक्षक, अभिभावक, व्यवसायी, समाजसेवी, पत्रकार) का २० जनासँग साक्षात्कार गरिएको छ।
- साक्षात्कारमा प्रश्नावली प्रयोग गरिएको छ, जसमा खुला र बन्द दुवै प्रकारका प्रश्नहरू समावेश छन्।
- दिपेन्द्र निरौलाको छिमेकीको केस अध्ययन गरिएको छ, जसले सिपको अभावमा रोजगारी नपाउने समस्याको चित्रण गर्दछ।
७. जानकारी, तथ्याङ्क, सूचना सङ्कलन
अनुसन्धान गर्ने विद्यार्थीले निम्न व्यक्तिहरूसँग साक्षात्कार गरी जानकारी सङ्कलन गरेकी छन्:
- पुर्णीमा पोखरेल (कक्षा १०, वाणिज्य विषय)
- विकास यादव (कक्षा मास्टर चौथो, वाणिज्य विषय)
- करिसमा चौधरी (वि.वि.यस २ वर्ष, वाणिज्य विषय)
- हेमा पोखरेल (कक्षा ११, व्यवस्थापन विषय)
- विष्णु भट्रराई (व्यापारी)
- अनिल निरौला (समाजसेवी)
- राम बहादुर निरौला (पत्रकार)
- कविराज पोखरेल (अभिभावक)
- दिपेन्द्र निरौलाको छिमेकीको केस अध्ययन
प्रश्नावरीबाट सङ्कलित तथ्याङ्क:
कूल ५० जना विद्यार्थीहरूबाट प्रश्नावरी सङ्कलन गरिएको छ।
प्रश्न १: तपाईंको विचारमा रोजगारी प्राप्त गर्न शैक्षिक ज्ञान मात्र पर्याप्त छ?
- ९०% ले “छैन” भने।
- १०% ले “छ” भने।
प्रश्न २: रोजगारी प्राप्त गर्न कस्ता सिपहरू आवश्यक छन्?
- ८५% ले कम्प्युटर सिप
- ७८% ले सञ्चार क्षमता
- ७२% ले टोलीमा काम गर्ने योग्यता
- ६८% ले भाषा सिप
- ६५% ले व्यावसायिक विचार
प्रश्न ३: पाठ्यक्रममा व्यावहारिक सिप समावेश गर्नु आवश्यक छ?
- ९५% ले “छ” भने।
- ५% ले “छैन” भने।
प्रश्न ४: पढाइसँगै कस्ता तालिमहरू लिनुहुन्छ?
- ८०% ले इन्टर्नशिप
- ७५% ले कम्प्युटर तालिम
- ७०% ले भाषा तालिम
- ६५% ले व्यवसाय तालिम
प्रश्न ५: रोजगारी प्राप्त गर्न आत्मविश्वास कति छ?
- ४०% ले “कम छ” भने।
- ३५% ले “मध्यम छ” भने।
- २५% ले “बढी छ” भने।
८. जानकारी, तथ्याङ्क, सूचना प्रस्तुति
तालिका १: विद्यार्थीहरूको रोजगारी सम्बन्धी धारणा
|
विद्यार्थीको नाम |
कक्षा |
मेजर विषय |
आवश्यक सिपहरू |
रोजगारीको लागि शैक्षिक ज्ञान पर्याप्त? |
भविष्यको योजना |
|
पुर्णीमा पोखरेल |
१० |
वाणिज्य |
लेखा, व्यवस्थापन, कम्प्युटर एकाउन्टिङ, डाटा विश्लेषण |
छैन |
वैकिङ म्यानेजर |
|
विकास यादव |
मास्टर चौथो |
वाणिज्य |
लेखा, व्यवस्थापन, व्यावसायिक विचार |
छैन |
वैकिङ शाख |
|
करिसमा चौधरी |
वि.वि.यस २ वर्ष |
वाणिज्य |
लेखा, व्यवस्थापन, प्रस्ताव लेखन, एक्सेल |
छैन |
व्यवसाय |
|
हेमा पोखरेल |
११ |
व्यवस्थापन |
लेखा, व्यवस्थापन, व्यावसायिक विचार, बजेट, प्राविधिक सिप |
छैन |
विपणन जागिर |
तालिका २: विभिन्न समूहहरूको रोजगारी सम्बन्धी विचार
|
समूह |
व्यक्तिको नाम |
मुख्य विचार |
सुझाव |
|
व्यापारी |
विष्णु भट्रराई |
पढाइ आधार मात्र हो, तर पर्याप्त छैन |
इन्टर्नशिप, फिल्ड वर्क, तालिम |
|
समाजसेवी |
अनिल निरौला |
सिप नजोड्दा रोजगारी गाह्रो |
शिक्षा र सिप जोड्नु |
|
पत्रकार |
राम बहादुर निरौला |
पाठ्यक्रममा पढाइएका कुरा मात्र पुग्दैन |
फरक-फरक सिप सिक्नु |
|
अभिभावक |
कविराज पोखरेल |
प्रमाणपत्र मात्र भए पुग्दैन |
विषयसँग जोडिएका सिप सिक्नु |
तालिका ३: प्रश्नावलीबाट सङ्कलित तथ्याङ्क
|
प्रश्न |
उत्तर |
प्रतिशत |
|
रोजगारी प्राप्त गर्न शैक्षिक ज्ञान मात्र पर्याप्त छ? |
छैन |
९०% |
|
छ |
१०% |
|
|
आवश्यक सिपहरू |
कम्प्युटर सिप |
८५% |
|
सञ्चार क्षमता |
७८% |
|
|
टोलीमा काम गर्ने योग्यता |
७२% |
|
|
भाषा सिप |
६८% |
|
|
व्यावसायिक विचार |
६५% |
|
|
पाठ्यक्रममा व्यावहारिक सिप समावेश गर्नु आवश्यक छ? |
छ |
९५% |
|
छैन |
५% |
|
|
पढाइसँगै कस्ता तालिमहरू लिनुहुन्छ? |
इन्टर्नशिप |
८०% |
|
कम्प्युटर तालिम |
७५% |
|
|
भाषा तालिम |
७०% |
|
|
व्यवसाय तालिम |
६५% |
|
|
रोजगारी प्राप्त गर्न आत्मविश्वास |
कम छ |
४०% |
|
मध्यम छ |
३५% |
|
|
बढी छ |
२५% |
तालिका ४: नेपाल र अन्तर्राष्ट्रिय तुलना
|
देश |
शिक्षा प्रणाली |
युवा बेरोजगारी दर |
सिप विकास कार्यक्रम |
|
नेपाल |
सैद्धान्तिक केन्द्रित |
२०% भन्दा बढी |
सीमित |
|
जर्मनी |
डुअल एजुकेशन सिस्टम |
५% |
व्यापक |
|
सिङ्गापुर |
स्किल्स फ्यूचर |
३% |
व्यापक |
|
भारत |
स्किल इन्डिया |
१०% |
मध्यम |
९. विश्लेषण
यस अनुसन्धानबाट स्पष्ट देखिन्छ कि नेपालको शिक्षा प्रणाली र रोजगारी बजारबीच ठूलो अन्तराल रहेको छ। विद्यार्थीहरूले प्राप्त गरेको शैक्षिक ज्ञान रोजगारी प्राप्त गर्नका लागि आधारभूत तत्व हो, तर यो मात्र पर्याप्त छैन। रोजगारी बजारले व्यावहारिक सिप, अनुभव, र व्यक्तिगत गुणहरू (आत्मविश्वास, धैर्य, टोलीमा काम गर्ने क्षमता) माग गर्दछ।
९.१ शैक्षिक ज्ञान र व्यावहारिक सिपबीचको खाडल:
अध्ययनले देखाएको छ कि ९०% भन्दा बढी विद्यार्थीहरूको विचारमा रोजगारी प्राप्त गर्न शैक्षिक ज्ञान मात्र पर्याप्त छैन। यसको मुख्य कारण पाठ्यक्रममा व्यावहारिक सिपको अभाव हो। विद्यार्थीहरूले किताबी ज्ञान त प्राप्त गर्छन्, तर त्यसलाई व्यावहारिक रूपमा कसरी प्रयोग गर्ने भन्ने कुरा सिक्दैनन्। उदाहरणका लागि, वाणिज्य पढेका विद्यार्थीले लेखाशास्त्रको सिद्धान्त त सिक्छन्, तर लेखा सफ्टवेयर चलाउन, कर विवरण तयार गर्न, वा वित्तीय विवरण विश्लेषण गर्न सिक्दैनन्।
९.२ रोजगारी बजारको माग:
कम्प्युटर सिप: ८५% विद्यार्थीहरूले कम्प्युटर सिपलाई आवश्यक मानेका छन्। आजको डिजिटल युगमा कम्प्युटर सिप नभएर रोजगारी प्राप्त गर्न असम्भव नै छ।
सञ्चार क्षमता: ७८% विद्यार्थीहरूले सञ्चार क्षमतालाई आवश्यक मानेका छन्। कामको स्थलमा सहकर्मी, ग्राहक, र अधिकारीहरूसँग प्रभावकारी सञ्चार गर्न सक्नु आवश्यक छ।
टोलीमा काम गर्ने योग्यता: ७२% विद्यार्थीहरूले टोलीमा काम गर्ने योग्यतालाई आवश्यक मानेका छन्। आधुनिक कार्यस्थलहरूमा सामूहिक परियोजनाहरूमा काम गर्नुपर्छ।
भाषा सिप: ६८% विद्यार्थीहरूले भाषा सिपलाई आवश्यक मानेका छन्। नेपाली भाषाको साथै अङ्ग्रेजी र अन्य अन्तर्राष्ट्रिय भाषाहरूको ज्ञान रोजगारीमा ठूलो फाइदा दिन्छ।
व्यावसायिक विचार: ६५% विद्यार्थीहरूले व्यावसायिक विचारलाई आवश्यक मानेका छन्। रोजगारीमा नवीनतम र रचनात्मक विचारहरूको मूल्य छ।
९.३ पाठ्यक्रममा व्यावहारिक सिपको अभाव:
९५% विद्यार्थीहरूको विचारमा पाठ्यक्रममा व्यावहारिक सिप समावेश गर्नु आवश्यक छ। तर नेपालको शिक्षा प्रणालीमा यो समावेश भएको छैन। यसको मुख्य कारणहरू यस प्रकार छन्:
परम्परागत मानसिकता: धेरै शिक्षक र अभिभावकहरूको विचारमा सिपमूलक शिक्षा “कम स्तरको शिक्षा” हो। उनीहरूको विचारमा शैक्षिक ज्ञान नै उच्च शिक्षा हो।
स्रोत साधनको अभाव: धेरै शिक्षण संस्थाहरूसँग व्यावहारिक सिप सिकाउनका लागि आवश्यक स्रोत साधन (प्रयोगशाला, कम्प्युटर, तालिमकर्ता) छैनन्।
नीतिगत कमी: सरकारले सिपमूलक शिक्षालाई प्राथमिकता दिएको छैन। पाठ्यक्रम निर्माणमा व्यावहारिक सिपलाई समावेश गर्ने नीति कमजोर छ।
९.४ केस अध्ययनको विश्लेषण:
दिपेन्द्र निरौलाको छिमेकीको केस अध्ययनले सिपको अभावमा रोजगारी नपाउने समस्याको ठूलो चित्रण गरेको छ। यस केसबाट निम्न निष्कर्षहरू निकाल्न सकिन्छ:
शैक्षिक योग्यता मात्र रोजगारी दिन्छ भन्ने धारणा गलत छ।
व्यावहारिक सिप नभएकोले विद्यार्थीहरू आत्मविश्वासहीन हुन्छन्।
परिवारले पनि विद्यार्थीहरूमा अपेक्षा राख्छन्, तर सिपको अभावले त्यो अपेक्षा पूरा हुँदैन।
यसले विद्यार्थीहरूमा निराशा र हताशा जन्माउँछ।
१०. सुझावहरूको विश्लेषण:
विभिन्न समूहहरूले दिएका सुझावहरू निम्नानुसार छन्:
विद्यार्थीहरू: पढाइसँगै कम्प्युटर तालिम, वैकिङ तालिम, इन्टर्नशिप लिनु।
व्यापारीहरू: इन्टर्नशिप, फिल्ड वर्क, तालिम लिनु।
समाजसेवीहरू: शिक्षा र सिप जोड्नु।
पत्रकारहरू: फरक-फरक सिप सिक्नु।
अभिभावकहरू: विषयसँग जोडिएका सिप सिक्नु।
यी सुझावहरूले शिक्षा प्रणालीमा सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्।
१०. निचोड
यस अनुसन्धानले देखाएको छ कि नेपालमा माध्यमिक तथा उच्च शिक्षापछिको रोजगारी प्राप्त गर्न शैक्षिक ज्ञान र व्यावहारिक सिप दुवैको आवश्यकता छ। विद्यार्थीहरूले पाठ्यक्रमबाट प्राप्त गरेको ज्ञानलाई व्यावहारिक रूपमा प्रयोग गर्न सक्ने सिप विकास गर्नुपर्छ। रोजगारी बजारले कम्प्युटर सिप, सञ्चार क्षमता, टोलीमा काम गर्ने योग्यता, र नवीनतम प्रविधिको ज्ञान माग गर्दछ। त्यसैले, शिक्षा प्रणालीले यी आवश्यकताहरू पूरा गर्ने गरी पाठ्यक्रम परिमार्जन गर्नुपर्छ।
अध्ययनले यो पनि देखाएको छ कि विद्यार्थीहरूमा रोजगारी प्राप्त गर्ने आत्मविश्वास कम छ, र यसको मुख्य कारण व्यावहारिक सिपको अभाव हो। यसले विद्यार्थीहरूमा निराशा र हताशा जन्माउँछ, जसले गर्दा उनीहरूको उत्पादकता घट्छ र राष्ट्रिय विकासमा नकारात्मक प्रभाव पर्छ।
अन्तर्राष्ट्रिय अनुभवहरूले देखाएको छ कि सिपमूलक शिक्षाले युवा बेरोजगारी दर घटाउन मद्दत गर्दछ। नेपालले जर्मनी, सिङ्गापुर, भारत जस्ता देशहरूबाट सबक लिई आफ्नो शिक्षा प्रणालीमा सुधार गर्न सक्छ।
अन्त्यमा, शिक्षा र रोजगारीबीचको खाडल पूरा गर्न सरकार, शिक्षण संस्था, निजी क्षेत्र, र समाजले सँगै काम गर्नुपर्छ। यसको लागि नीतिगत सुधार, स्रोत साधनको विकास, र मानसिकतामा परिवर्तन आवश्यक छ।
११. निष्कर्ष
यस अनुसन्धानबाट निम्नलिखित निष्कर्षहरू निकाल्न सकिन्छ:
- शैक्षिक ज्ञान र व्यावहारिक सिप दुवै रोजगारी प्राप्त गर्न आवश्यक छन्:९०% भन्दा बढी विद्यार्थीहरूको विचारमा शैक्षिक ज्ञान मात्र रोजगारी प्राप्त गर्न अपर्याप्त छ। व्यावहारिक सिपको अभावले विद्यार्थीहरू रोजगारी प्राप्त गर्न असफल हुन्छन्।
- नेपालको शिक्षा पाठ्यक्रममा व्यावहारिक सिपको समावेश न्यून छ:९५% विद्यार्थीहरूको विचारमा पाठ्यक्रममा व्यावहारिक सिप समावेश गर्नु आवश्यक छ, तर यो समावेश भएको छैन। यसको मुख्य कारण परम्परागत मानसिकता, स्रोत साधनको अभाव, र नीतिगत कमी हो।
- विद्यार्थीहरूले पढाइसँगै इन्टर्नशिप, फिल्ड वर्क, र तालिमहरू लिनुपर्छ:८०% विद्यार्थीहरूले इन्टर्नशिपलाई आवश्यक मानेका छन्। यसले विद्यार्थीहरूलाई व्यावहारिक अनुभव दिन्छ र रोजगारी प्राप्त गर्न मद्दत गर्दछ।
- रोजगारी प्राप्त गर्न आत्मविश्वास, धैर्य, र व्यवहारिक क्षमताको विकास जरुरी छ:४०% विद्यार्थीहरूमा रोजगारी प्राप्त गर्ने आत्मविश्वास कम छ। यसको मुख्य कारण व्यावहारिक सिपको अभाव र रोजगारी बजारको ज्ञानको कमी हो।
- सरकार, शिक्षण संस्था, र निजी क्षेत्रले सिप विकासका कार्यक्रमहरू सँगै सञ्चालन गर्नुपर्छ:शिक्षा र रोजगारीबीचको खाडल पूरा गर्न सरकार, शिक्षण संस्था, र निजी क्षेत्रले सँगै काम गर्नुपर्छ। यसको लागि नीतिगत सुधार, स्रोत साधनको विकास, र मानसिकतामा परिवर्तन आवश्यक छ।
- अन्तर्राष्ट्रिय अनुभहरूबाट नेपालले सबक लिन सक्छ:जर्मनी, सिङ्गापुर, भारत जस्ता देशहरूले सिपमूलक शिक्षालाई प्राथमिकता दिएका छन् र यसले तिनीहरूको युवा बेरोजगारी दर घटाउन मद्दत गरेको छ। नेपालले यी देशहरूबाट सबक लिई आफ्नो शिक्षा प्रणालीमा सुधार गर्न सक्छ।
१२. थप अध्ययनका लागि सुझाव
यस अनुसन्धानको आधारमा थप अध्ययनका लागि निम्नलिखित सुझावहरू दिइएका छन्:
- दीर्घकालीन अध्ययन:दीर्घकालीन अध्ययन गरी शिक्षा र रोजगारीबीचको सम्बन्धको गहन विश्लेषण गर्नुपर्छ। यसले समयको साथमा सम्बन्धमा आएका परिवर्तनहरूलाई बुझ्न मद्दत गर्दछ।
- विभिन्न क्षेत्रका रोजगारी माग अनुसारको सिप तथ्याङ्क सङ्कलन:विभिन्न क्षेत्रहरू (स्वास्थ्य, शिक्षा, इन्जिनियरिङ, व्यवसाय, कृषि) को रोजगारी माग अनुसारको सिपहरूको तथ्याङ्क सङ्कलन गर्नुपर्छ। यसबाट पाठ्यक्रम निर्माणमा मद्दत मिल्छ।
- सफल रोजगारी केसहरूको अध्ययन:सफल रोजगारी केसहरूको अध्ययन गरी युवाहरूलाई मार्गदर्शन गर्नुपर्छ। यसले विद्यार्थीहरूमा आत्मविश्वास बढाउन मद्दत गर्दछ।
१३. सन्दर्भ सामग्री
- नेपाल सरकार, शिक्षा मन्त्रालय (२०८०)। “राष्ट्रिय शिक्षा नीति”। काठमाडौं: शिक्षा मन्त्रालय।
- विश्व बैंक (२०२२)। “स्किल डेवलपमेन्ट एन्ड एम्प्लोयमेन्ट इन नेपाल”। वाशिङ्टन डिसी: विश्व बैंक।
- युनेस्को (२०२१)। “ग्लोबल एजुकेशन मोनिटरिंग रिपोर्ट”। पेरिस: युनेस्को।
- राष्ट्रिय योजना आयोग (२०७९)। “नेपालको पञ्चवर्षीय योजना”। काठमाडौं: राष्ट्रिय योजना आयोग।
- केन्द्रीय तथ्याङ्क विभाग (२०७८)। “नेपालको जनगणना तथ्याङ्क”। काठमाडौं: केन्द्रीय तथ्याङ्क विभाग।
- अन्तर्राष्ट्रिय श्रम सङ्गठन (२०२०)। “ग्लोबल एम्प्लोयमेन्ट ट्रेन्ड्स फर युथ”। जेनेभा: अन्तर्राष्ट्रिय श्रम सङ्गठन।
- नेपाल राष्ट्र बैंक (२०८०)। “नेपालको आर्थिक सर्वेक्षण”। काठमाडौं: नेपाल राष्ट्र बैंक।
- शिक्षा तथा मानव स्रोत विकास मन्त्रालय (२०७८)। “शिक्षाको गुणस्तर सुधार रणनीति”। काठमाडौं शिक्षा तथा मानव स्रोत विकास मन्त्रालय।
- जर्मन सहयोग संस्था (GIZ) (२०२१)। “स्किल्ड ह्युमन रिसोर्स डेवलपमेन्ट इन नेपाल”। काठमाडौं: GIZ
* पूजा पोखरेल रूपनगर नन्दराज संग्रौला क्याम्पसमा बिबियस दोश्रो वर्षकी छात्रा हुन्।
प्रतिवेदन स्रोत: रूपनगर क्याम्पस फिचर सेवा।
