लक्ष्मी लामिछाने
सप्तरी जिल्लामा दलित समुदायको शैक्षिक अवस्था : एक अध्ययन
लक्ष्मी लामिछाने *
१. प्रस्तावना
नेपालको सामाजिक संरचनामा “दलित” शब्दले ऐतिहासिक रूपमा जातिगत आधारमा अछुत घोषित गरिएका र राज्यको मुख्यधाराबाट विभेदको शिकार भएका समुदायहरूलाई जनाउँछ। यो कुनै एक जाति नभएर हिन्दु वर्ण व्यवस्थाभित्र सबैभन्दा निम्न स्थानमा राखिएका, विभिन्न पेशागत जातजातिहरूको साझा सामाजिक पहिचान हो। कामी, सार्की, दमाई, गाइने, चमार, मुसहर, परियार, बिक जस्ता जातिहरू यस अन्तर्गत पर्दछन्, जसले सदियौंदेखि सामाजिक, आर्थिक र शैक्षिक अवसरबाट वञ्चित भई आफ्नो अधिकार र सम्मानको लागि संघर्ष गरिरहेका छन्। यस संरचनाले नेपाली समाजलाई गहिरो रूपमा विभाजित गरेको छ, जसको असर शिक्षा जस्ता मौलिक अधिकारमा पनि देखिन्छ।
यो अनुसन्धान सप्तरी जिल्ला विशेष रूपमा अग्निसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर ६ मा आधारित भई दलित समुदायको शैक्षिक अवस्थाको अध्ययन, विश्लेषण र मूल्याङ्कन प्रस्तुत गर्ने उद्देश्यले गरिएको हो राख्दछ। शिक्षा नै व्यक्ति र समुदायको सशक्तिकरण, आर्थिक उन्नति र सामाजिक प्रतिष्ठाको मूल आधार हो। तर, दलित समुदायमा शिक्षाको पहुँच, गुणस्तर र अवसरको असमानताले उनीहरूको विकासमा बाधा उत्पन्न गरेको छ। यसैकारण यस अनुसन्धानको केन्द्रित उद्देश्य सप्तरी जिल्लामा दलित समुदायको शिक्षाको स्तर, आँकडा, चुनौतीहरू, सकारात्मक पहलहरू र समाधानका उपायहरूको चित्रण गर्नु हो। साथै, यसले दलित समुदायमा शिक्षाको पहुँचलाई कसरी वृद्धि गर्न सकिन्छ, चेतना कसरी जगाउन सकिन्छ भन्ने बारेमा विचार प्रस्तुत गर्ने प्रयाश गर्दछ।
२. परिचय
नेपालको जटिल सामाजिक संरचनाभित्र “दलित” शब्दले एउटा जातिलाई मात्र नभई ऐतिहासिक रूपमा उत्पीडनमा रहेको एउटा ठूलो मानव समूहलाई बुझाउँछ । यो समुदायलाई विगतमा हिन्दु वर्ण व्यवस्थाको सबैभन्दा तल्लो खुड्किलोमा राखेर राज्यको मूल प्रवाहबाट टाढा राखिएको थियो। यस समूहभित्र कामी, सार्की, दमाई, गाइने, चमार, मुसहर, परियार र विक जस्ता विभिन्न शीप भएका र श्रमजीवी जातिहरू पर्दछन्।
सप्तरी जिल्लाको सन्दर्भमा यो समुदायको जनसङ्ख्या उल्लेख्य छ, तर उनीहरूको शिक्षा, स्वास्थ्य र राजनीतिक पहुँच अझै पनि सन्तोषजनक छैन। यो अनुसन्धानले सप्तरी जिल्ला, विशेष गरी अग्निसाइर कृष्णसवरण गाउँपालिकालाई आधार बनाएर यहाँका दलितहरूको शैक्षिक स्तर, चेतना र विद्यालयमा उनीहरूको उपस्थितिको विश्लेषण गर्ने प्रयास गरेको छ। शिक्षा नै मुक्तिको एक मात्र मार्ग हो भन्ने मान्यतालाई आत्मसात् गर्दै यो प्रतिवेदन तयार पारिएको छ।
३. पृष्ठभूमि
नेपालको इतिहासमा वि.सं. २०६३ को परिवर्तन र २०७२ को संविधानले दलितका हक-अधिकारलाई मौलिक हकको रूपमा स्थापित गरेको छ। यद्यपि, सामाजिक र आर्थिक रूपमा यो समुदाय अझै पनि पुस्तागत गरिबी र जातीय विभेद को मारमा छ । सप्तरी जिल्लाको साक्षरता दर अन्य जिल्लाको तुलनामा मध्यम रहे पनि दलित बस्तीहरूमा पुग्दा यो दर निकै न्यून पाइन्छ।
अग्निसाइर कृष्णसवरण गाउँपालिकामा दलित समुदायको बसोबास सघन छ। तर उनीहरूका बालबालिकाहरू विद्यालय बाहिरै श्रम गरिरहेका भेटिन्छन्। गरिबी यति गहिरो छ कि शिक्षा लिनु उनीहरूका लागि विलाशिता जस्तो बन्न पुगेको छ। यसै ऐतिहासिक र सामाजिक पृष्ठभूमिलाई ध्यानमा राख्दै, वर्तमान अवस्थामा देखिएका परिवर्तनका सङ्केतहरूलाई यस प्रतिवेदनमा समेटिएको छ।
४. अनुसन्धानका उद्देश्यहरू
यस अनुसन्धानलाई व्यवस्थित बनाउन निम्न उद्देश्यहरू निर्धारण गरिएको छ:
- शैक्षिक अवस्थाको मूल्याङ्कन: सप्तरी जिल्ला र विशेष गरी अग्निसाइर कृष्णसवरण गाउँपालिकामा दलित समुदायको साक्षरता र उच्च शिक्षाको वास्तविक अवस्था पत्ता लगाउनु।
- अवरोधहरूको पहिचान: बालबालिकाहरू विद्यालय नजानु वा बीचमै पढाइ छोड्नुका सामाजिक, आर्थिक र सांस्कृतिक कारणहरू विश्लेषण गर्नु।
- सरकारी कार्यक्रमको प्रभावकारिता: स्थानीय सरकार र विद्यालयले प्रदान गर्ने छात्रवृत्ति, निःशुल्क सामग्री र अन्य प्रोत्साहन कार्यक्रमहरूको प्रभावकारिता जाँच गर्नु।
- सरोकारवालाको भूमिका: जनप्रतिनिधि, शिक्षक र अभिभावकहरू शिक्षाप्रति कत्तिको जिम्मेवार छन् भनी अध्ययन गर्नु।
- सुधारका मार्गहरू: दलित समुदायलाई शैक्षिक मूल प्रवाहमा ल्याउनका लागि व्यवहारिक र नीतिगत सुझावहरू प्रस्तुत गर्नु।
५. समस्या कथन / अनुसन्धान प्रश्न
यो अनुसन्धान मुख्यतया निम्न समस्याहरूमा केन्द्रित छ:
- उच्च शिक्षामा न्यून पहुँच: राष्ट्रिय तथ्याङ्कले दलितको उच्च शिक्षामा पहुँच १.६% मात्र देखाउनुले गम्भीर शैक्षिक संकटको सङ्केत गर्दछ। यो अवस्था सप्तरीमा कस्तो छ?
- गरिबी र शिक्षाको सम्बन्ध: ४४% दलित समुदाय गरिबीको रेखामुनि हुनुले उनीहरूको शिक्षामा कस्तो असर पारेको छ?
- विद्यालयको वातावरण: के विद्यालयहरू दलित बालबालिकाका लागि विभेदरहित र मैत्रीपूर्ण छन्?
- अभिभावकीय गैर-जिम्मेवारी: शिक्षित अभिभावकको कमीले बालबालिकाको प्रेरणामा कस्तो प्रभाव परेको छ?
६. सन्दर्भ सामग्री अध्ययन
अनुसन्धानका क्रममा विभिन्न विश्वसनीय स्रोतहरूको अध्ययन गरिएको छ:
- राष्ट्रिय जनगणना २०७८: राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदन अनुसार सप्तरीमा दलितको जनसङ्ख्या १७१,८१७ (२७.३%) रहेको छ, जसमध्ये ४४% गरिबीमा छन्।
- उच्च शिक्षाको तथ्याङ्क: दलित समुदायबाट कक्षा १२ उत्तीर्ण गर्नेको दर केवल ३.८% हुनुले माध्यमिक शिक्षामा ठूलो खाडल देखिन्छ।
- स्थानीय अभिलेख: अग्निसाइर कृष्णसवरण गाउँपालिकाको तथ्याङ्क अनुसार यहाँ ८,६३३ दलितमध्ये २,८१४ जना अझै निरक्षर छन् ।
- विद्यालय प्रतिवेदन: श्री सामुदायिक आधारभूत विद्यालय मोहनपुरको तथ्याङ्क अनुसार त्यस विद्यालयमा भर्ना भएका कूल विद्यार्थी मध्ये २० देखि २५% दलित छन्।
७. अनुसन्धान विधि
यो अनुसन्धानलाई वैज्ञानिक र विश्वसनीय बनाउन निम्न विधिहरू अपनाइएको छ:
- स्थलगत अवलोकन: अग्निसाइर कृष्णसवरण गाउँपालिका र कञ्चनरुप नगरपालिकाको दलित बस्तीमा पुगेर प्रत्यक्ष रूपमा बालबालिका र अभिभावकको जीवनशैली अध्ययन गरियो।
- प्रत्यक्ष अन्तर्वार्ता: जनप्रतिनिधि: वडाध्यक्ष श्री अशोक आचार्यसँगको छलफल।
- शिक्षाविद्: प्रधानाध्यापक श्री हेमनाथ अधिकारीसँगको प्राविधिक संवाद।
- विद्यार्थी र अभिभावक: प्रत्यक्ष बस्तीमा पुगी गरिएको कुराकानी।
- तथ्याङ्कीय विश्लेषण: सरकारी तथ्याङ्क र विद्यालयको रेकर्डलाई गणितीय रूपमा विश्लेषण गरिएको छ।
८. जानकारी, तथ्याङ्क, सूचना सङ्कलन
सङ्कलित सूचनाहरूलाई निम्न बुँदाहरूमा संक्षेपीकरण गर्न सकिन्छ:
- जनसङ्ख्या र गरिबी: सप्तरीमा दलित जनसङ्ख्या २७.३% छ भने अग्निसाइर गाउँपालिकामा दलित समुदायमा गरिबीको दर ४०-४२% छ।
- शैक्षिक उपलब्धिको तथ्याङ्क: अग्निसाइर गाउँपालिकामा स्नातक उत्तीर्ण गर्ने दलितको सङ्ख्या जम्मा ९५ जना मात्र छ, जुन कूल दलित जनसङ्ख्याको करिब १% मात्र हुन आउँछ।
- ड्रप-आउटको स्थिति: गरिबी र पुस्तागत पेशा (ज्याला मजदुरी) का कारण धेरै बालबालिका विद्यालय नियमित आउँदैनन् वा बीचमै पढाइ छाड्छन्।
९. सूचना, जानकारी प्रस्तुति
९.१ सामाजिक-ऐतिहासिक परिप्रेक्ष्य र सन्दर्भ
दलित: पहिचान र अवधारणा
नेपालको सन्दर्भमा “दलित” भन्नाले आर्थिक रूपमा कमजोर वर्गलाई मात्र बुझाउँदैन। यो एक जटिल सामाजिक-राजनीतिक अवधारणा हो जुन ऐतिहासिक रूपमा स्थापित जातिगत विभेदको व्यवस्थाबाट उत्पन्न भएको हो। हिन्दु वर्ण व्यवस्थाले मानिसलाई जन्मका आधारमा कर्म र पेशा तोकेर विभाजन गरेको छ, जसमा दलितहरूलाई अछुत को स्थानमा राखिएको थियो। यसले उनीहरूलाई सामाजिक सम्बन्ध, धार्मिक अनुष्ठान, सार्वजनिक स्थल, र शिक्षा जस्ता मौलिक अधिकारबाट वञ्चित गर्यो। आधुनिक नेपालमा पनि यसको प्रभाव गहिरो छ, जसले दलित समुदायलाई सामाजिक रूपमा पिछडिएको, आर्थिक रूपमा शोषित र राजनीतिक रूपमा कमजोर बनाएको छ।
सप्तरी जिल्लाको सामाजिक-आर्थिक र जनसांख्यिकीय परिदृश्य
सप्तरी, मधेश क्षेत्रमा अवस्थित एक प्रमुख जिल्ला हो, जहाँको सामाजिक संरचना जटिल र बहु-जातीय छ। यस जिल्लामा दलित समुदायको ठूलो जनसङ्ख्या रहेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयको राष्ट्रिय जनगणना २०७८ अनुसार, सप्तरी जिल्लाको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा १७१,८१७ छ, जुन जिल्लाको कूल जनसङ्ख्याको २७.३% हो। यो प्रतिशत राष्ट्रिय औसतभन्दा धेरै उच्च छ, जसले सप्तरीलाई दलित अध्ययनको लागि महत्त्वपूर्ण क्षेत्र बनाउँछ। तथापि, यो ठूलो जनसङ्ख्याको बावजूद, दलित समुदाय गम्भीर गरिबीमा बस्छन्। जिल्लामा गरिबीको रेखामुनि बस्ने दलित समुदायको दर ४४% छ, जुन सामान्य गरिबी दरभन्दा पनि उच्च हो।
९.२ शैक्षिक अवस्थाको राष्ट्रिय र स्थानीय तथ्याङ्कीय विश्लेषण
राष्ट्रिय स्तरमा दलित शिक्षाको अवस्था
नेपालमा दलित समुदायको शिक्षाको अवस्था चिन्ताजनक छ। राष्ट्रिय स्तरमा, दलित समुदायमा उच्च शिक्षा (स्नातक वा सो भन्दा माथि) को पहुँच १.६% मात्र छ। कक्षा १२ उत्तीर्ण गर्ने दर ३.८% मात्र रहेको छ। यी आँकडाहरूले दलित विद्यार्थीहरूको शिक्षाको यात्रा प्राथमिक तहमै खुम्चिँदै गएको छ भन्ने कुराको संकेत गर्दछ। आर्थिक अभाव, सामाजिक भेदभाव, र सांस्कृतिक बाधाहरूले उनीहरूलाई माध्यमिक र उच्च शिक्षाबाट टाढा राखेको छ।
अग्निसाइर कृष्णसवरण गाउँपालिकाको विस्तृत अध्ययन
यस अनुसन्धानले अग्निसाइर कृष्णसवरण गाउँपालिकालाई अध्ययनको केन्द्र बनाएको छ। यस गाउँपालिकामा दलित समुदायको कूल जनसङ्ख्या लगभग ८,६३३ रहेको छ। यहाँ गरिबीको रेखामुनि बस्ने दलित समुदायको दर ४०% देखि ४२% को बीचमा छ, जुन जिल्लाको औसतभन्दा केही तल तर पनि गम्भीर नै छ। शैक्षिक उपलब्धिका दृष्टिले हेर्दा अवस्था अत्यन्त नाजुक र दुःखद छ:
- स्नातक वा सोभन्दा माथिको शिक्षा:लगभग ९५ जना मात्र
- कक्षा १२ उत्तीर्ण:लगभग १९० जना
- कक्षा १० उत्तीर्ण:लगभग ३२८ जना
- निरक्षर जनसङ्ख्या:लगभग २,८१४ जना
यी तथ्याङ्कहरूले गाउँपालिकामा दलित समुदायको लगभग एक तिहाइ भाग निरक्षर रहेको देखाउँछन्। कक्षा १० पार गर्नेको सङ्ख्या नै सीमित छ भने उच्च शिक्षा प्राप्त गर्ने त अत्यन्तै थोरै छन्। यसले शिक्षाको निम्नस्तर र आर्थिक गरिबीबीचको चक्रव्यूह स्पष्ट हुन्छ।
१०. विश्लेषण
१०.१ आर्थिक अभाव र गरिबीको चक्र
दलित समुदायको शिक्षामा सबैभन्दा ठूलो बाधक आर्थिक अभाव हो। अधिकांश दलित परिवारहरू दैनिक मजदूरी, कृषि श्रम, वा पारम्परिक निम्नस्तरीय पेशामा आवद्ध छन्, जसबाट आएको आयले दैनिक जीवनयापनलाई मात्र धान्छ। यस्तो अवस्थामा बालबालिकालाई विद्यालय पठाउनु भनेको परिवारको लागि आर्थिक बोझ हो। बालबालिकाहरू पनि सानो उमेरदेखि नै घरधन्दा वा मजदूरीमा लागेर परिवारलाई सहयोग गर्न बाध्य हुन्छन्। शिक्षामा लाग्ने प्रत्यक्ष र अप्रत्यक्ष खर्च (पोशाक, यातायात खर्च, समय) धान्न सक्दैनन्। गरिबीको यो चक्रले एक पुस्तादेखि अर्को पुस्तामा निरक्षरता र अज्ञानता स्थानान्तरण गर्दछ।
१०.२ सामाजिक संरचना र जातिगत भेदभाव
ऐतिहासिक रूपमा रूढीवादी मान्यताहरूले दलित समुदायलाई अछुत र निम्न कोटीको मानेको छ। यो मानसिकता आधुनिक समाजमा पनि पूर्ण रूपमा हटेको छैन। यसको असर शिक्षा क्षेत्रमा पनि देखिन्छ। कतिपय अवस्थामा दलित विद्यार्थीहरूलाई विद्यालय भित्र र बाहिर भेदभाव गरिन्छ। सामाजिक दूरी, अपमानजनक व्यवहार, र छुवाछूतको मनोवृत्तिले उनीहरूको मनोबलमा नकारात्मक असर पार्छ, जसले गर्दा विद्यालय जाने रूचि कम हुन्छ। अभिभावकहरू पनि आफ्ना बच्चाहरूले यस्तो अपमान भोग्नुपर्ने डरले विद्यालय पठाउन हच्किन सक्छन्।
१०.३ शैक्षिक वातावरण र अभिभावकीय सहयोगको अभाव
धेरै दलित अभिभावक आफैं निरक्षर वा कम शिक्षित हुन्छन्, जसको कारण उनीहरूले आफ्ना बालबालिकालाई शिक्षाको महत्त्व बुझाउन, गृहकार्यमा सहयोग गर्न, वा शैक्षिक निर्णयहरूमा मार्गदर्शन गर्न सक्दैनन्। पारिवारिक रूपमा शिक्षाको कमी भएकोले बालबालिकामा पढाइप्रति आत्मविश्वास र प्रेरणाको अभाव हुन्छ। साथै, ग्रामीण क्षेत्रमा शैक्षिक स्रोतसाधन (पुस्तकालय, ट्यूटर, शैक्षिक सामग्री) को अभावले पनि शिक्षण-सिकाइ प्रक्रिया प्रभावित हुन्छ।
१०.४ सरकारी र गैरसरकारी कार्यक्रमहरूको सीमित पहुँच र जानकारीको अभाव
सरकार र विभिन्न गैरसरकारी संस्थाहरूले दलित शिक्षा प्रवर्द्धनका लागि छात्रवृत्ति, निःशुल्क पुस्तक, पोशाक जस्ता कार्यक्रम चलाएका छन्। तर, यी योजनाहरूको जानकारी स्थानीय स्तरमा पर्याप्त रूपमा पुग्दैन। दलित समुदायका अभिभावकहरूलाई आवेदन प्रक्रिया, योग्यताको मापदण्ड, र समयावधिको जानकारी नहुनु पनि एउटा बाधा हो। यसले गर्दा लक्षित समुदायले प्रदान गरिएको अवसरको फाइदा उठाउन सक्दैनन्।
१०.५ स्थानीय सरकारको भूमिका र पहल
अग्निसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष अशोक आचार्यसँगको अन्तर्वार्ताबाट स्थानीय सरकारले गरेका केही सकारात्मक कदमहरूको जानकारी पाइन्छ:
- वित्तीय सहयोग:दलित विद्यार्थीहरूलाई वार्षिक रू. ४०० छात्रवृत्ति।
- शैक्षिक सामग्री:निःशुल्क पाठ्यपुस्तक, पोशाक र अन्य आवश्यक शैक्षिक सामग्री वितरण।
- भर्ना अभियान:विद्यालय बाहिर रहेका बालबालिकाको तथ्याङ्क संकलन गरी उनीहरूलाई पुनः विद्यालयमा भर्ना गराउने प्रयास।
- भेदभाव विरुद्ध कारबाही:विद्यालय भित्र कुनै पनि प्रकारको जातिगत भेदभाव भएमा कडा निगरानी र कारबाही गर्ने।
यी पहलहरूले स्थानीय स्तरमा शिक्षा प्रवर्द्धनको लागि एक सकारात्मक वातावरण निर्माण गर्न मद्दत गरेको देखिन्छ।
१०.६ विद्यालयस्तरीय पहल
‘श्री समुदायिक आधारभूत विद्यालय मोहनपुर’ को उदाहरण: यस विद्यालयका प्रधानाध्यापक हेमनाथ अधिकारीसँगको अन्तर्वार्ता र विद्यालय भ्रमणले विद्यालयले निभाएको भूमिका स्पष्ट भयो। यस विद्यालयमा कूल विद्यार्थीमध्ये २०-२५% दलित वर्गका छन्, जसमा मुसहर, परियार आदि जातका विद्यार्थीहरू पढ्छन्। विद्यालयले गरेका प्रमुख कार्यहरू:
- छात्रवृत्ति र सहयोग:प्रत्येक दलित विद्यार्थीलाई वार्षिक रु. ४०० छात्रवृत्ति, झोला, पोशाक, पुस्तक प्रदान गर्ने।
- अन्तर्राष्ट्रिय सहयोग:फिनल्यान्ड सरकारको सहयोगमा हरेक वर्ष ४-५ जना दलित विद्यार्थी छनोट गरी अतिरिक्त छात्रवृत्ति प्रदान गर्ने।
- सामाजिक समावेशीकरण:प्रधानाध्यापकले दलित विद्यार्थीहरूको उपस्थिति र पढाइमा सुधार भएको बताउँछन् र उनीहरूलाई उच्च शिक्षासम्म पुर्याउने प्रतिबद्धता जाहेर गर्छन्।
- तथापि, उनले यो पनि बताए कि अभिभावकको गैर-जिम्मेवारी, गरिबी र पारम्परिक पेशा (ज्याला मजदूरी) नै विद्यालय नआउनुका प्रमुख कारण हुन्।
१०.७ दलित बालबालिका र अभिभावकको दृष्टिकोण: कञ्चनरूप नगरपालिकाको बस्तीबाट उदाहरण:
अनुसन्धानका लागि गरिएको भ्रमणका क्रममा कञ्चनरूप नगरपालिकाको एक दलित बस्तीमा भेटिएका गौरी सदा, राकेश सदा, राहुल सदा, सूर्य सदा, पवन सदा, शिवानी सदा र पुनम सदा जस्ता बालबालिकाहरूको उदाहरणले आशाको किरण देखाउँछ। यी सबै श्री सर्वोदय माध्यमिक विद्यालयमा पढ्छन्। तिनीहरूको आर्थिक अवस्था अत्यन्त कमजोर भए तापनि अभिभावकहरूले मजदूरी, घासदाउरा गरेर पनि बच्चाहरूलाई स्कुल पठाउने वातावरण बनाएका छन्। विद्यालयबाट प्राप्त रु. ४०० छात्रवृत्ति, पोशाक, कापी-कलमले उनीहरूलाई ठूलो सहयोग पुगेको छ। सबैभन्दा उत्साहजनक कुरा भनेको यी बालबालिकाहरूले “हामीलाई विद्यालयमा कसैले पनि दलित भनेर हेप्दैनन् र हामी पनि कसैलाई हेप्दैनौं” भन्नु हो। यसले विद्यालयमा सकारात्मक र समावेशी वातावरण रहेको संकेत गर्छ। अभिभावकहरूले पनि बच्चाहरूको पढाइमा सुधार देखेको र अझ राम्रो शिक्षाको लागि आफूलाई परिश्रम गर्ने इच्छा व्यक्त गरेका छन्। यो दलित समुदायभित्र उठ्दै गरेको चेतना र आत्मविश्वासको प्रतीक हो।
११. चुनौतीहरू समाधान गर्ने रणनीति र सिफारिशहरू
११.१ नीतिगत स्तरमा सुधार
- छात्रवृत्तिको रकम बृद्धि:वार्षिक रू. ४०० को छात्रवृत्ति आजको अर्थतन्त्रमा अपर्याप्त छ। यसलाई बढाएर उच्च माध्यमिक र उच्च शिक्षाको लागि पनि विशेष छात्रवृत्ति योजना ल्याउनुपर्छ।
- आरक्षणको कार्यान्वयन:उच्च शिक्षा संस्थानहरूमा दलित विद्यार्थीहरूको लागि आरक्षण (कोटा) को व्यवस्थालाई प्रभावकारी ढङ्गले लागू गर्नुपर्छ, ताकि उच्च शिक्षामा पहुँच बढोस्।
- दलित-मैत्री पाठ्यक्रम:पाठ्यक्रममा समावेशीकरण, सामाजिक समानता, दलित योगदान जस्ता विषयहरू समेट्नुपर्छ, जसले भेदभावको मानसिकता घटाउन मद्दत गर्छ।
११.२ स्थानीय स्तरमा सामुदायिक संलग्नता
- अभिभावक चेतना कार्यक्रम:दलित अभिभावकहरूका लागि शिक्षाको महत्त्वबारे अभियान चलाउनुपर्छ। साक्षरता कक्षा र आयआर्जन कार्यक्रमबाट उनीहरूलाई सशक्त बनाउनुपर्छ।
- शिक्षक प्रशिक्षण:शिक्षकहरूलाई समावेशी शिक्षा, संवेदनशीलता र दलित विद्यार्थीहरूको विशेष आवश्यकताको बारेमा प्रशिक्षण दिनुपर्छ।
- सामुदायिक शिक्षा कोष:स्थानीय सरकार, विद्यालय र समुदायले मिलेर एक कोष स्थापना गर्न सक्छन्, जसबाट आकस्मिक आर्थिक आवश्यकतामा परेका दलित विद्यार्थीहरूलाई सहयोग गर्न सकिन्छ।
११.३ आर्थिक सशक्तिकरण
- अभिभावकको आयस्रोत विकास:दलित परिवारहरूको लागि व्यावसायिक प्रशिक्षण र साना बचत समूह जस्ता कार्यक्रमबाट आयआर्जनको वैकल्पिक मार्ग खुल्ला गर्नुपर्छ, ताकि बालबालिकालाई मजदूरीमा पठाउनु नपरोस्।
- विद्यार्थी-मैत्री समयतालिका:खेतीको समय वा अन्य व्यस्त समयमा विद्यालयको समयमा लचिलोपन ल्याउन सकिन्छ, ताकि बालबालिकाले काम र पढाइ दुवै सन्तुलन गर्न सकुन्।
११.४ अनुगमन र मूल्याङ्कन
- तथ्याङ्क व्यवस्थापन:प्रत्येक विद्यालयले दलित विद्यार्थीहरूको नाम, कक्षा, उपस्थिति, शैक्षिक प्रगति र छात्रवृत्तिको जानकारी राख्ने व्यवस्थित प्रणाली हुनुपर्छ।
- नियमित अनुगमन:स्थानीय सरकार र नागरिक समाजले विद्यालयहरूमा भेदभावको अवस्था, छात्रवृत्तिको वितरण र शैक्षिक गुणस्तरको नियमित अनुगमन गर्नुपर्छ।
१२. निष्कर्ष
सप्तरी जिल्ला विशेषगरी अग्निसाइर कृष्णसवरण गाउँपालिका र कञ्चनरूप नगरपालिकामा दलित समुदायको शैक्षिक अवस्था अत्यन्तै चुनौतीपूर्ण छ। गरिबी, सामाजिक भेदभाव, अभिभावकीय शैक्षिक अभाव, र सूचनाको कमी जस्ता बहु-आयामी समस्याहरूले यस समुदायलाई शिक्षाको मुख्य धाराबाट टाढा राखेको छ।
यद्यपि, स्थानीय सरकार, विद्यालय र केही अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरूले गरेका सकारात्मक पहलहरूले आशा जगाएका छन्। छात्रवृत्ति, निःशुल्क सामग्री वितरण, भर्ना अभियान जस्ता कदमहरूले केही मात्रामा प्रभाव पारेका छन्। दलित बालबालिकाहरूमा देखिएको आत्मविश्वास र अभिभावकहरूको बदल्दै गरेको सोचले पनि सकारात्मक संकेत दिन्छ।
तर, यी प्रयासहरू अपर्याप्त छन्। दलित समुदायका बालबालिकाको शिक्षा सुनिश्चित गर्नु कुनै एक वर्ग, संस्था वा सरकारको मात्र जिम्मेवारी होइन, यो सम्पूर्ण नेपाली राज्य र समाजको साझा दायित्व हो। नेपाल सरकारले दलित शिक्षा प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकतामा राखेर पर्याप्त वजेट, प्रभावकारी नीति र कडा कार्यान्वयनको व्यवस्था गर्नुपर्छ। स्थानीय सरकारहरूले यसलाई केन्द्रीय एजेण्डा बनाउनुपर्छ। शिक्षक, अभिभावक, समुदाय र नागरिक समाजले पनि भूमिका खेल्नुपर्छ।
शिक्षा नै दलित समुदायलाई गरिबी, भेदभावको चक्रबाट मुक्त गर्ने सबैभन्दा शक्तिशाली हतियार हो। यसलाई प्रभावकारी बनाउन आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक हरेक स्तरमा समन्वित, दीर्घकालीन र ईमानदार प्रयासको आवश्यकता छ। एकजुट हुँदै समावेशी र समानतामा आधारित शैक्षिक परिवेश निर्माण गर्न सके मात्र नेपालले सबै नागरिकको गरीमा र अधिकार सुनिश्चित गर्ने समाज निर्माण गर्न सक्नेछ। दलित समुदायको शिक्षा त्यसै साझा लक्ष्य प्राप्तिको मूल आधारस्तम्भ हो।
१३. थप अध्ययनका लागि सुझाव
- छात्रवृत्तिमा पुनरावलोकन: वार्षिक ४०० रूपिञालाई बढाएर मासिक रूपमा सम्मानजनक रकम उपलब्ध गराउनुपर्छ ।
- आवासीय शिक्षा: अति विपन्न मुसहर र अन्य दलित बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालयको व्यवस्था हुनुपर्छ।
- सचेतना कार्यक्रम: अभिभावकहरूलाई शिक्षाको महत्व बुझाउन अभिभावक शिक्षा अभियान गाउँगाउँमा सञ्चालन गर्नुपर्छ।
- रोजगारीसँग शिक्षा: उच्च शिक्षा हासिल गरेका दलित युवाहरूलाई स्थानीय सरकारले रोजगारीमा प्राथमिकता दिनुपर्छ ताकि अरूले पनि प्रेरणा पाउन्।
- विभेद विरुद्ध शून्य सहनशीलता: विद्यालय र समाजमा हुने सूक्ष्म विभेद विरुद्ध कडा कानुन र सामाजिक निगरानी संयन्त्र बनाउनुपर्छ।
१४. सन्दर्भ सामग्री
- राष्ट्रिय तथ्याङ्क कार्यालय (NSO), जनगणना २०७८ को प्रतिवेदन 。
- अन्तर्वार्ता: अशोक आचार्य (वडाध्यक्ष) र हेमनाथ अधिकारी (प्रधानाध्यापक) ।
- स्थलगत भ्रमण टिपोट: कञ्चनरुप र बसन्तपुर दलित बस्ती ।
- रूपनगर नन्दराज संग्रौला क्याम्पसको अनुसन्धान निर्देशिका ।
* लक्ष्मी लामिछाने रूपनगर नन्दराज संग्रौला क्याम्पसमा बिबियस दोश्रो वर्षकी छात्रा हुन्।
प्रतिवेदन स्रोत: रूपनगर क्याम्पस फिचर सेवा।
