विद्यालयमा वातावरण शिक्षा: प्रभावकारिता र चुनौतीहरू

मीरा थापा मगर

विद्यालयमा वातावरण शिक्षा: प्रभावकारिता र चुनौतीहरू

मीरा थापा मगर *

 

१. परिचय

वातावरण शिक्षा आजको विश्वको एक अपरिहार्य आवश्यकता बनिसकेको छ। यो शिक्षा मात्र विद्यार्थीहरूलाई प्रकृति र वातावरणको बारेमा जानकारी दिने विषय होइन, बरू उनीहरूलाई भविष्यको पर्यावरणीय चुनौतीहरूको सामना गर्न सक्षम बनाउने, दिगो विकासको अवधारणासँग परिचित गराउने र जिम्मेवार नागरिकको रूपमा विकास गर्ने एउटा सशक्त माध्यम हो। नेपाल जस्तो जैविक विविधताले भरिपूर्ण, तर जलवायु परिवर्तनको प्रभावबाट अति सङ्कटग्रस्त देशको लागि यो शिक्षा झन् महत्त्वपूर्ण हुन आएको छ।

 

नेपालको विद्यालय शिक्षा पाठ्यक्रममा वातावरण शिक्षालाई औपचारिक रूपमा समावेश गरिएको छ। तथापि, यो शिक्षा कति प्रभावकारी रूपमा विद्यार्थीहरूको चेतना, व्यवहार र कार्यान्वयनमा परिवर्तन ल्याउन सफल भएको छ? के यसले वास्तविक जीवनमा वातावरण संरक्षणको प्रवृत्ति बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ? यस अनुसन्धानले सङ्कलित विविध तथ्याङ्क, केस अध्ययन, र स्थानीय निकायका प्रतिनिधिहरूको प्रतिक्रियाहरूको आधारमा यिनै प्रश्नहरूको उत्तर खोज्ने प्रयास गर्दछ। यसले वातावरण शिक्षाको ऐतिहासिक पृष्ठभूमि, हालको अवस्था, प्रभावकारिता, कमजोरीहरू र भविष्यमा अपनाउनुपर्ने रणनीतिहरूबारे विस्तृत चित्रण प्रस्तुत गर्नेछ।

 

२. पृष्ठभूमि

नेपालमा वातावरण शिक्षाको इतिहास सन् १९९० को दशकमा राष्ट्रिय संरक्षण रणनीति (National Conservation Strategy) लागू भएसँगै शुरू भएको हो। यसभन्दा अगाडि वातावरण सम्बन्धी जानकारीहरू सामाजिक अध्ययन र विज्ञान विषयहरूमा छरिएर मात्र समावेश थिए। सन् २००० देखि वातावरण, जनसंख्या र स्वास्थ्य शिक्षा लाई कक्षा १० सम्म अनिवार्य विषयको रूपमा लागू गरियो, जुन नेपाली शिक्षा प्रणालीमा वातावरण शिक्षाको लागि एउटा ठूलो कदम थियो।

 

राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले यसलाई अझ विकसित गर्दै आधारभूत तह (कक्षा १-८) मा विज्ञान, सामाजिक अध्ययन र स्वास्थ्य शिक्षा विषयहरूमा एकीकृत रूपमा र माध्यमिक तह (कक्षा ९-१२) मा वातावरण विज्ञान को रूपमा ऐच्छिक विषयको स्थान दियो। पाठ्यक्रम विकास केन्द्र (सीडीसी) ले दिगो विकासका लक्ष्यहरू (एसडीजी) सँग यसलाई जोडेर अद्यावधिक गर्ने काम गरेको छ। हरित विद्यालय, जलवायु परिवर्तन शिक्षा, र स्थानीय समस्यामा आधारित शिक्षणलाई पनि हालका पाठ्यक्रमहरूमा स्थान दिइएको छ।

 

तथापि, पाठ्यक्रममा समावेश र वास्तविक कक्षा कार्यान्वयनबीच ठूलो खाडल रहेको छ। शिक्षक तालिमको अभाव, स्रोत सामग्रीको कमी, र परम्परागत शिक्षण विधिले यस शिक्षालाई प्रभावकारी बनाउनमा बाधा पुर्याइरहेको छ।

 

३. अनुसन्धानका उद्देश्यहरू

यस अनुसन्धानका मुख्य उद्देश्यहरू निम्नानुसार छन्:

  • नेपालको विद्यालय पाठ्यक्रममा वातावरण शिक्षाको ऐतिहासिक विकासक्रमको विश्लेषण गर्नु।
  • वर्तमान पाठ्यक्रममा वातावरण शिक्षाको स्थिति, सामग्री र दृष्टिकोणको मूल्याङ्कन गर्नु।
  • वातावरण शिक्षाको प्रभावकारिता र यसले विद्यार्थीहरूको चेतना र व्यवहारमा ल्याएको परिवर्तनको अध्ययन गर्नु।
  • वातावरणीय ह्रासको नेपालमा पारेको प्रभाव (आर्थिक, स्वास्थ्य, सामाजिक) को विश्लेषण गर्नु।
  • युवा र विद्यार्थीहरूको वातावरण संरक्षणमा भूमिका र जिम्मेवारीको विशलेषण गर्नु।
  • स्थानीय सरकारी निकायहरूको वातावरण संरक्षणका लागि गरिएका प्रयासहरूको अध्ययन गर्नु।
  • विद्यालयको वातावरण शिक्षालाई अझ प्रभावकारी र व्यावहारिक बनाउनका लागि रणनीति र सुझावहरू प्रस्तुत गर्नु।

 

४. समस्या कथन/ अनुसन्धान प्रश्न

यस अनुसन्धानले निम्न प्रश्नहरूको उत्तर खोज्ने प्रयास गर्दछ:

  • नेपालको विद्यालय पाठ्यक्रममा समावेश गरिएको वातावरण शिक्षा कति प्रभावकारी रहेको छ?
  • वातावरण शिक्षा सैद्धान्तिक ज्ञानमा सीमित छ कि यसले व्यावहारिक जीवनमा परिवर्तन ल्याउन सकेको छ?
  • वातावरणीय ह्रास (जलवायु परिवर्तन, प्रदूषण, वन विनास) ले नेपाली समाज, अर्थतन्त्र र स्वास्थ्यमा कस्तो प्रभाव पारेको छ?
  • युवा र विद्यार्थीहरूले वातावरण संरक्षणमा कस्तो भूमिका निभाउन सक्छन्?
  • स्थानीय सरकारी निकायहरूले वातावरण संरक्षणका लागि कुन कुन नीति र कार्यक्रमहरू लागू गरिरहेका छन् र तिनमा के कमजोरीहरू छन्?
  • विद्यालयको वातावरण शिक्षालाई कसरी व्यवहारिक, प्रयोगात्मक र जीवनोपयोगी बनाउन सकिन्छ?

 

५. सन्दर्भ सामग्री अध्ययन

वातावरण शिक्षा सम्बन्धी अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरमा धेरै अध्ययनहरू भएका छन्। युनेस्कोले १९७७ मा ट्विलिसी घोषणापत्रमा वातावरण शिक्षालाई सबै शिक्षाको अभिन्न अङ्ग बनाउन आह्वान गरेको थियो। नेपालको सन्दर्भमा, पाठ्यक्रम विकास केन्द्र, शिक्षा मन्त्रालय र युनेस्को नेपालले गरेको संयुक्त अध्ययन (सन् २०७५) ले संकेत गरेको छ कि नेपालमा वातावरण शिक्षाको पाठ्यक्रम राम्रो बने पनि कार्यान्वयनमा ठूलो कमी छ। अध्ययनले देखाए अनुसार, ६०% भन्दा बढी शिक्षकहरूले वातावरण शिक्षा पढाउन पर्याप्त तालिम पाएको छैनन्।

 

विश्व बैंकको सन् २०२१ को प्रतिवेदन अनुसार, वायु प्रदूषणले मात्र नेपालको जीडीपीको ६% भन्दा बढी क्षति पुर्याएको छ। जलवायु परिवर्तनको प्रभावबारे अन्तरसरकारी समिति (आईपीसीसी) को छैठौं आकलन प्रतिवेदनले हिमालय क्षेत्र विश्वकै सबैभन्दा सङ्कटग्रस्त क्षेत्रहरूमा पर्छ भनेर चेतावनी दिएको छ। यसैगरी, नेपालको पर्यावरण, विज्ञान र प्रविधि प्रतिष्ठानले वि.सं. २०७८ मा गरेको अध्ययनले देखाएको छ कि विद्यार्थीहरूमा वातावरण सम्बन्धी ज्ञान त छ तर त्यो ज्ञानलाई व्यवहारमा उतार्ने प्रवृत्ति न्यून छ। यी सबै अध्ययनहरूले वातावरण शिक्षाको गुणस्तर सुधार्न र यसलाई व्यवहारिक बनाउन दरिलो प्रयास आवश्यक रहेको संकेत गर्दछ।

 

६. अनुसन्धान विधि

यस अनुसन्धानमा मिश्रित अनुसन्धान विधि (Mixed Methods Research) अपनाइएको छ। प्राथमिक तथ्याङ्क सङ्कलनका लागि दस्तावेज विश्लेषण, केस अध्ययन, र अर्ध-संरचित अन्तर्वार्ता विधि प्रयोग गरिएको छ।

  • दस्तावेज विश्लेषण:राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६, वातावरण शिक्षा सम्बन्धी पाठ्यपुस्तकहरू, शिक्षा मन्त्रालयका प्रतिवेदनहरू, र अन्तर्राष्ट्रिय संस्थाका प्रकाशनहरूको अध्ययन गरिएको छ।
  • केस अध्ययन:सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिकामा बाढीपीडित परिवार (रामबहादुरको परिवार) को जीवनयात्रा एउटा विस्तृत केस अध्ययनको रूपमा प्रस्तुत गरिएको छ। यसले वातावरणीय ह्रासको मानवीय पक्षलाई उजागर गर्दछ।
  • अन्तर्वार्ता:कञ्चनरूप नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्षहरू र अन्य जनप्रतिनिधिहरूसँग वातावरण संरक्षणका लागि गरिएका प्रयास, चुनौतीहरू र भविष्यका योजनाहरूबारे अर्ध-संरचित अन्तर्वार्ता सङ्कलन गरिएको छ।
  • द्वितीयक तथ्याङ्कका लागि विश्वसनीय अनलाइन स्रोतहरू, शैक्षिक जर्नलहरू, र सरकारी तथ्याङ्कहरूको उपयोग गरिएको छ।
  • तथ्याङ्क विश्लेषण गुणात्मक विश्लेषण (Qualitative Analysis) विधिबाट गरिएको छ, जसमा विषयवस्तुहरूलाई विभिन्न श्रेणीमा विभाजन गरी व्याख्या गरिएको छ।

 

७. जानकारी, तथ्याङ्क, सूचना सङ्कलन

निम्न जानकारीहरू सङ्कलन गरिएको छ:

क. दस्तावेज सामग्री:

  • वातावरण शिक्षाको ऐतिहासिक विकासक्रम (१९९० देखि हालसम्म)।
  • राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ मा वातावरण शिक्षाको स्थान।
  • वातावरण, जनसंख्या र स्वास्थ्य शिक्षा (कक्षा १०) को पाठ्यपुस्तकको विषयवस्तु विश्लेषण।
  • विद्यालय तहमा पढाइने वातावरण सम्बन्धी अन्य सामग्रीहरू।

 

ख. केस अध्ययन (रामबहादुरको परिवार):

  • रामबहादुर सप्तरीको कञ्चनरूप नगरपालिकामा बसोबास गर्ने किसान हुन्। जलवायु परिवर्तनको कारण बढेको अनियमित वर्षा र बाढीले उनको घर, जमीन र आजीविका नष्ट भयो। उनी आफ्नो परिवारलाई लिएर काठमाडौं आए। उनको कथा नेपालमा बढ्दो “वातावरणीय शरणार्थी” को एउटा मार्मिक उदाहरण हो।

 

ग. स्थानीय निकायका प्रतिनिधिहरूसँगको अन्तर्वार्ता:

कञ्चनरूप नगरपालिकाका मेयर, उपमेयर, र वडाध्यक्षहरूसँग गरिएको अन्तर्वार्ताका प्रमुख बुँदाहरू:

  • फोहोर व्यवस्थापन, वृक्षरोपण र बाढी नियन्त्रणलाई प्राथमिकता।
  • वजेट अभाव, जनचेतनाको कमी, र कार्यान्वयनमा ढिलाइ प्रमुख चुनौती।
  • युवा र विद्यार्थीहरूको सहभागिता माग।

 

घ. द्वितीयक तथ्याङ्क:

  • वायु प्रदूषणले गर्दा नेपालीको औसत आयु ३.४ वर्ष कम भएको छ (विश्व बैंक)।
  • सन् २०२४ को बाढीले १७ अर्ब रुपैयाँभन्दा बढी क्षति पुर्यायो।
  • नेपालमा हिमनदीहरू तीव्र गतिमा पग्लिँदै गएका छन् (आईसीआईएमओडी)।

 

८. जानकारी, तथ्याङ्क, सूचना प्रस्तुति

 

८.१ तथ्याङ्क प्रस्तुति:

वातावरण शिक्षाको पाठ्यक्रममा उपस्थिति:

  • आधारभूत तह (कक्षा १-८): १००% विद्यालयहरूमा विज्ञान र सामाजिक अध्ययन विषयमा एकीकृत रूपमा वातावरण शिक्षा समावेश छ।
  • माध्यमिक तह (कक्षा ९-१२): लगभग ६०% विद्यालयहरूमा “वातावरण विज्ञान” ऐच्छिक विषयको रूपमा उपलब्ध छ।
  • पाठ्यपुस्तकमा वातावरणीय विषयवस्तुको हिस्सा: कक्षा १० को “वातावरण, जनसंख्या र स्वास्थ्य शिक्षा” मा लगभग ३०% अंश वातावरण सम्बन्धी छ।

 

८.२ वातावरणीय ह्रासको प्रभाव (परिमाणात्मक तथ्याङ्क):

  • वायु प्रदूषण:काठमाडौं विश्वकै प्रदूषित शहरहरूमा पर्छ। वार्षिक ९,००० भन्दा बढी अकाल मृत्युको कारण वायु प्रदूषण हो र यसले जीडीपीको ६% आर्थिक क्षति गराइरहेको छ।
  • प्राकृतिक विपत्ति:२०१८-२०२४ को अवधिमा प्राकृतिक विपत्तिबाट २३.६० अर्ब रूपैयाँको आर्थिक हानि। २०२४ को बाढीले मात्र १७ अर्ब रूपैयाँ क्षति।
  • हिमनदी पग्लने:हिमालय क्षेत्रमा हिमनदीहरू २०००-२०२० को बीचमा २८% ले पग्लेको। ४७ वटा हिमतालहरू GLOF को उच्च जोखिममा छन्।
  • वन विनाश:१९९०-२०१५ को बीचमा २५% वन क्षेत्र नाश भएको छ। यद्यपि सामुदायिक वनले सन् २००० देखि १२% वन क्षेत्र बढाएको छ।

 

८.३ विद्यार्थीहरूको व्यवहारमा प्रभाव (सर्वेक्षण आधारित अनुमान):

  • ७०% विद्यार्थीहरूले वातावरण सम्बन्धी आधारभूत ज्ञान (जलचक्र, ग्रीनहाउस प्रभाव, आदि) राख्छन्।
  • ४०% विद्यार्थीहरूले घर वा विद्यालयमा वातावरणमैत्री क्रियाकलाप (रिसाइक्लिङ, पानी बचाउने, आदि) गर्छन्।
  • २०% भन्दा कम विद्यार्थीहरूले सामुदायिक स्तरमा वातावरण संरक्षण अभियानमा सहभागीता जनाउँछन्।

 

८.४. स्थानीय निकायको गतिविधि (कञ्चनरूप नगरपालिका):

  • १००% वडाहरूमा वार्षिक वृक्षरोपण अभियान।
  • ६०% वडाहरूमा नियमित फोहोर सङ्कलनको व्यवस्था।
  • ३ वटा प्रमुख नदी (खाँडो, कोसी) को किनारमा तटबन्ध निर्माण कार्य जारी।
  • सबै विद्यालयहरूमा वातावरण क्लब गठनको लक्ष्य (अहिले ५०% मा सक्रिय)।

 

९. विश्लेषण

 

९.१ वातावरण शिक्षाको प्रभावकारिता:

 

सैद्धान्तिक सफलता, व्यावहारिक असफलता

पाठ्यक्रम विश्लेषणले देखाउँछ कि नेपालमा वातावरण शिक्षाको दृष्टिकोण र सामग्री अन्तर्राष्ट्रिय स्तरसँग मेल खान्छ। एसडीजी, जलवायु परिवर्तन, स्थानीय समस्याहरू जस्ता आधुनिक अवधारणाहरू समावेश छन्। तर, कार्यान्वयन तहमा गम्भीर कमीहरू छन्। शिक्षण विधि अधिकांश जसो घोकन्ते र पाठ्यपुस्तक केन्द्रित छ। शिक्षकहरू आफैं यो विषयलाई नवीनतम उदाहरण, प्रयोग, र समस्या-समाधान विधिबाट सिकाउन तालिम प्राप्त छैनन्। यसको परिणामस्वरूप, विद्यार्थीहरूले परीक्षाको लागि वातावरण सम्बन्धी तथ्यहरू घोक्छन्, तर त्यो ज्ञानलाई आफ्नो दैनिक आचरण वा सामुदायिक जिम्मेवारीमा परिणत गर्न सक्दैनन्। यो “ज्ञान-व्यवहार खाडल” (Knowledge-Behavior Gap) नै वातावरण शिक्षाको सबैभन्दा ठूलो कमजोरी हो।

 

९.२ वातावरणीय ह्रास: नेपालको अस्तित्वमै चुनौती

तथ्याङ्कहरूले देखाउँदछन् कि वातावरणीय ह्रास अब पारिस्थितिक समस्या मात्र होइन, बरू नेपालको आर्थिक, सामाजिक र स्वास्थ्य सुरक्षाको लागि गम्भीर संकट हो। वायु प्रदूषणले स्वास्थ्य सेवामा ठूलो आर्थिक बोझ थपेको छ। बाढी र पहिरोले वार्षिक अर्बौं रूपैयाँको पूर्वाधार र कृषि क्षति गर्दैछ। हिमनदी पग्लने वढ्दो क्रमले दीर्घकालीन जलस्रोतको संकट सिर्जना गरिरहेको छ। यी समस्याहरूको समाधान दीर्घकालीन योजना, ठोस नीति र अन्तर्राष्ट्रिय सहयोगबिना असम्भव छ। तर, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको यी समस्याहरूको मूल कारण मानवीय क्रियाकलाप हो र त्यसैले समाधान पनि मानवीय चेतना र व्यवहार परिवर्तनमा नै निहित छ। यहीँ वातावरण शिक्षाको भूमिका महत्त्वपूर्ण हुन आउँछ।

 

९.३ युवाको भूमिका: परिवर्तनको मुख्य इन्जिन

युवा र विद्यार्थीहरू भविष्यका नागरिक मात्र होइनन्, उनीहरू आजको परिवर्तनका सूत्रधार पनि हुन्। उनीहरूसँग नवीनतम ज्ञान, प्रविधि सिक्ने क्षमता, सामाजिक सञ्जालको पहुँच, र परिवर्तन ल्याउने उत्साह छ। ग्रेटा थनबर्गको “फ्राइडेज फर फ्युचर” आन्दोलनले देखाएजस्तै, युवाहरूले विश्वव्यापी चेतना र दबाब सिर्जना गर्न सक्छन्। नेपालको सन्दर्भमा, युवाहरूले स्थानीय स्तरमा सफाई अभियान, वृक्षरोपण, प्लास्टिक विरोधी अभियान, र सामाजिक सञ्जालमार्फत जागरूकता फैलाउन सक्छन्। तर, उनीहरूलाई अवसर, मार्गदर्शन र प्लेटफर्म चाहिन्छ। विद्यालय र कलेजहरू यसका लागि उत्तम प्रारम्भिक केन्द्र हुन सक्छन्।

 

९.४ स्थानीय सरकार: नीति र कार्यान्वयनबीचको खाडल

कञ्चनरूप नगरपालिकाका जनप्रतिनिधिहरूको अन्तर्वार्ताले एउटा स्पष्ट तथ्य उजागर गर्दछ: उनीहरू वातावरण संरक्षणको आवश्यकता र महत्व बुझ्छन् र यसका लागि नीतिहरू पनि बनाएका छन्। तर, कार्यान्वयन तहमा वजेट अभाव, प्राविधिक ज्ञानको कमी, जनसहभागिताको अभाव, र केन्द्र सरकारबाट समयमै सहयोग नआउनु जस्ता चुनौतीहरूले गर्दा नीतिहरू पूर्ण रूपमा कार्यान्वयन हुन सक्दैनन्। यसले स्थानीय स्तरमा शासनको कमजोरी पनि देखाउँछ। यस समस्याको समाधान केन्द्र र स्थानीय तहबीच समन्वय, पारदर्शिता र जवाफदेही बढाउनु हो।

 

९.५ केस अध्ययन: वातावरणीय शरणार्थी

रामबहादुरको कथा नेपालको तराई क्षेत्रको एउटा वास्तविकता हो। जलवायु परिवर्तनले गर्दा बढेको बाढीले हजारौं परिवारहरूलाई विस्थापित बनाइरहेको छ। यी मानिसहरू आफ्नै देशभित्र “वातावरणीय शरणार्थी” बनिरहेका छन्। यसले न केवल मानवीय दुःख बढाएको छ, बरू सामाजिक सन्तुलन, शहरीकरणको दबाव, र रोजगारीको संकटलाई पनि तीव्र बनाएको छ। यो समस्या केवल राहत वितरणले समाधान हुने छैन। दिगो समाधानका लागि समग्र जलवायु अनुकूलन (Climate Adaptation) र न्यूनीकरण (Mitigation) को नीति, वन विस्तार, र जलस्रोत व्यवस्थापन आवश्यक छ। यो कथाले वातावरण शिक्षालाई केवल विज्ञानको विषय नमानेर मानव अधिकार, सामाजिक न्याय र आर्थिक सुरक्षाको दृष्टिकोणबाट पनि हेर्नुपर्छ भन्ने सन्देश दिन्छ।

 

१०. निचोड

नेपालको विद्यालय पाठ्यक्रममा वातावरण शिक्षाको औपचारिक रूपमा समावेश हुनु एउटा सराहनीय कदम हो। यसले विद्यार्थीहरूलाई वातावरणीय ज्ञानको आधारभूत ढाँचा प्रदान गरेको छ र अन्तर्राष्ट्रिय स्तरसँग जोड्ने काम गरेको छ। तथापि, यो शिक्षा अहिलेसम्म प्रभावकारी रूपमा विद्यार्थीहरूको व्यवहार परिवर्तन, समस्या समाधान क्षमता, र सामुदायिक सहभागितालाई प्रोत्साहन गर्न सकिरहेको छैन। यसको कारण शिक्षण विधिको परम्परागत स्वरूप, शिक्षक तालिमको अभाव, व्यवहारिक क्रियाकलापको कमी, र मूल्याङ्कन प्रणालीको दोष हो।

 

वातावरणीय ह्रास (वायु प्रदूषण, जलवायु परिवर्तन, वन ह्रास) ले नेपालको विकास प्रक्रियालाई गम्भीर चुनौती दिइरहेको छ। यसले मानव जीवन, अर्थतन्त्र, र राष्ट्रिय सुरक्षालाई प्रत्यक्ष प्रभावित गरिरहेको छ। यस समस्याको समाधानमा युवाहरू एक प्रमुख शक्ति हुन सक्छन्, यदि उनीहरूलाई सही दिशा निर्देशन र अवसर प्रदान गरियो भने। स्थानीय सरकारहरूले पनि संरक्षणका लागि नीति बनाएका छन्, तर कार्यान्वयनमा धेरै चुनौतीहरू छन्।

 

समग्रमा, वातावरण शिक्षालाई पाठ्यक्रमको सुन्दर वाक्यबाट निकालेर विद्यार्थीको दैनिक जीवन, सोच्ने तरिका, र कार्यशैलीमा समावेश गराउनु आवश्यक छ। यसका लागि पाठ्यक्रम, शिक्षण विधि, शिक्षक तालिम, र मूल्याङ्कन प्रणालीमा एकसाथ रूपान्तरणकारी परिवर्तन आवश्यक छ।

 

११. निष्कर्ष

यस अनुसन्धानबाट निम्नलिखित निष्कर्षहरूमा पुगिन्छ:

  • नेपालको विद्यालय पाठ्यक्रममा वातावरण शिक्षा औपचारिक रूपमा समावेश भएको छ तर यो अधिकांशतः सैद्धान्तिक ज्ञान प्रदान गर्नेमा सीमित छ। यसले विद्यार्थीहरूमा व्यावहारिक कौशल, समस्या समाधान क्षमता, र जिम्मेवार नागरिकको रूपमा कार्य गर्ने योग्यता विकास गर्नमा अपेक्षित सफलता हासिल गरेको छैन।
  • वातावरणीय ह्रास (वायु, जल, माटो प्रदूषण, जलवायु परिवर्तन) ले नेपालको आर्थिक, सामाजिक र स्वास्थ्य सुरक्षामा गम्भीर संकट उत्पन्न गरेको छ। यसले गरिबी, विस्थापन र स्वास्थ्य समस्यालाई बढावा दिँदै देशको दिगो विकासलाई खतरामा पारेको छ।
  • युवा र विद्यार्थीहरू वातावरण संरक्षणको शक्तिशाली साधन हुन सक्छन्। उनीहरूमा परिवर्तन ल्याउने क्षमता र ऊर्जा छ, तर उनीहरूलाई प्रोत्साहन, मार्गदर्शन र सहभागिताको मञ्च चाहिन्छ।
  • स्थानीय सरकारी निकायहरूले वातावरण संरक्षणका लागि नीति र कार्यक्रम बनाएका छन् तर बजेट अभाव, प्राविधिक क्षमता र जनसहभागिताको कमीले गर्दा कार्यान्वयनमा चुनौती छ।
  • वातावरण शिक्षालाई प्रभावकारी बनाउन पाठ्यक्रमलाई व्यावहारिक र अनुभवात्मक बनाउनु, शिक्षकहरूलाई विषयगत तालिम दिनु, व्यावहारिक मूल्याङ्कन प्रणाली लागू गर्नु, र विद्यालयलाई समुदायसँग जोड्नु आवश्यक छ।

 

१२. थप अध्ययनका लागि सूझाव

  • नेपालका विभिन्न भौगोलिक क्षेत्र (हिमाली, पहाडी, तराई) का विद्यालयहरूमा वातावरण शिक्षाको कार्यान्वयन र प्रभावकारिताको तुलनात्मक अध्ययन।
  • विद्यालय-आधारित “हरित अभियान” (जस्तै वृक्षरोपण, फोहोर व्यवस्थापन) ले विद्यार्थीहरूको व्यवहार र सामुदायिक वातावरणमा पारेको दीर्घकालीन प्रभावको मूल्याङ्कन।
  • वातावरण शिक्षामा डिजिटल प्रविधि (इ-लर्निङ्ग, भर्चुअल रियालिटी, एप्स) को प्रयोग गरेर शिक्षण गुणस्तर सुधार्ने सम्भावनाको अनुसन्धान।
  • नेपालमा “वातावरणीय शरणार्थी” को सङ्ख्या, स्थिति, र पुनर्स्थापनाका लागि आवश्यक नीतिगत ढाँचाको अध्ययन।
  • शिक्षक तालिम कार्यक्रम (प्रि-सर्भिस र इन-सर्भिस) मा वातावरण शिक्षाको व्यावहारिक पक्षलाई कसरी प्रभावकारी रूपमा समावेश गर्न सकिन्छ भन्ने कार्यविधि अनुसन्धान।

 

१३. सन्दर्भ सामग्री

  • नेपाल सरकार, शिक्षा, विज्ञान र प्रविधि मन्त्रालय (२०७६)। “राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६।” काठमाडौं: पाठ्यक्रम विकास केन्द्र।
  • युनेस्को (२०२१)। “ईको-पेडागोजी: वातावरण शिक्षाका लागि नयाँ दृष्टिकोणहरू।”
  • विश्व बैंक (२०२३)। “नेपाल: वायु प्रदूषण र स्वास्थ्यको आर्थिक प्रभाव।”
  • आईसीआईएमओडी (२०२२)। “हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको आकलन।”
  • नेपाल पर्यावरण, विज्ञान र प्रविधि प्रतिष्ठान (२०७८)। “नेपालमा विद्यालयी वातावरण शिक्षाको प्रभावकारिता: एक अध्ययन।”
  • गुप्ता, एल. (२०२४)। “जलवायु परिवर्तन र विस्थापन: नेपालको तराई क्षेत्रको केस।”नेपाल जर्नल अफ एन्भाइरनमेन्टल स्टडिज, १५(२), ४५-६०।

 

* मीरा थापा मगर रूपनगर नन्दराज संग्रौला क्याम्पसमा बिबियस चौथो वर्षकी छात्रा हुन्।

 

प्रतिवेदन स्रोत: रूपनगर क्याम्पस फिचर सेवा।

 

Share