रूपनगर क्याम्पसमा विद्यार्थीका लागि शेयर कारोबारबारे एक दिने प्रशिक्षण सम्पन्न

रूपनगर, सप्तरी, फागुन १७ / शेयर कारोबार सिकेर त्यसबाट कसरी कमाउन सकिन्छ भन्ने विषयमा रूपनगर क्याम्पसका विद्यार्थीका लागि एक दिने प्रशिक्षण आयोजना गरियो ।

डिम्याट खाता, मेरो शेयर, आइपिओ, लगायत स्टक सम्बन्धी आधारभूत अवधारणा र तिनका प्रक्रियाबारे सहभागीहरूलाई व्यवहारिक ज्ञान दिइएको सो कार्यक्रममा शेयर बजारमा प्रत्यक्ष ‘अनलाइन’ कारोबार गरेर देखाएर अन्तर्क्रिया गर्दै सिकाइयो ।

राष्ट्र संघीय निकाय ‘यूएन उमन’ का परामर्शदाता शिव कुमार रायले दिनु भएको सो आधारभूत प्रशिक्षणमा ३० जना विद्यार्थी र केही अविभावक सहभागी थिए ।

जान्ने हो भने शेयर कारोबार गरेर राम्रै आम्दानी गर्न सकिने बताउँदै प्रशिक्षक रायले शेयर बजारका विविध पक्षबारे जानकारी दिनुभयो । ‘शेयर बजारमा खेलेर कसरी पैसा कमाउने भन्ने यस्तो छोटो कार्यक्रममा धेरै सिक्न सकिन्न । यो विषय अलि जटिल हुन्छ । तर सिक्ने हो भने गाह्रो छैन । रूचि राख्नेहरूले मसँग सम्पर्क गरेर अझ धेरै सिक्न सक्नुहुन्छ,’ भन्दै उहाँले शेयर कारोबारप्रति रूचि जगाउने शैलीमा प्रस्तुति दिनुभयो ।

आयोजक रूपनगर नन्दराज संग्रौला क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले कार्यक्रम आरम्भ गर्दै ‘विश्वविद्यालयले निर्धारण गरेको पाठ्यक्रम पढेर, प्रमाणपत्र हासिल गरेर मात्र हुँदैन,’ भन्नु भयो । ‘कुनै न कुनै शीप नजान्ने हो भने आजको प्रतिस्पर्धाको युगमा केही गर्न सकिन्न र रोजगारी पाउन पनि गाह्रो हुन्छ’ भन्दै विद्यार्थीहरूलाई अहिलेको आवश्यकता अनुसारको शीप सिक्न सुझाव दिनु भयो ।

जीवन उपयोगी व्यवहारिक शीप आजको अनिवार्य आवश्यकता हो भन्ने यथार्थलाई आत्मसात् गरेर रूपनगर क्याम्पसले आफ्ना विद्यार्थीहरूलाई विभिन्न शीपमूलक कार्यक्रम र प्रशिक्षण दिने गरेको छ ।

यसै क्रममा खोजमूलक ‘फिचर’ लेखन प्रशिक्षण र अभ्यास चाडैँ शुरू गर्न लागिएको जानकारी प्राध्यापक गजुरेलले दिनु भयो ।

Share