रूपनगर क्याम्पसमा छात्राहरूका लागि जीवन उपयोगी शीपमूलक तालिम आरम्भ

रूपनगर, सप्तरी, माघ १३/ रूपनगर नन्दराज संग्रौला क्याम्पस, रूपनगरमा किशोरीहरूका लागि जीवन उपयोगी शीपमूलक तालिम आरम्भ भएको छ ।
सिक्वेल फाउण्डेसनको आयोजना र रूपनगर क्याम्पसको संयोजनमा सो तालिम चार महिना सम्म सञ्चालन हुने जानकारी क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले दिनुभयो ।
सरकारी विद्यालयमा कक्षा ११ र १२ मा पढ्ने गाउँका छात्राहरूलाई विभिन्न शीप सिकाएर ‘गरी खान’ सक्ने बनाउने उद्देश्यले यस्तो तालिम शुरू गरिएको कुरा आयोजक संस्था सिक्वेल फाउण्डेसनले जनाएको छ ।
सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिका-१२ स्थित श्री शंकर माध्यमिक विद्यालयका २० जना किशोरीहरूलाई दिइने शीपमूलक तालिम अन्तर्गत् ‘डिजिटल साक्षरता,’ ‘वित्तीय साक्षरता,’ ‘इण्टर परसनल सञ्चार शीप’ र ‘यौन तथा प्रजनन् स्वास्थ्य’ प्रत्येक विषयमा एक-एक महिना विविध पक्षबारे शीप सिकाइने छ ।
कञ्चनरूपका नगर प्रमुख ललन प्रसाद गुप्ताले कम्प्यूटरको ‘कि’ थिचेर तालिमको उद्द्घाटन गर्नुभयो । उद्घाटन पछि प्रमुख अतिथिको आशनबाट कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गुप्ताले तालिमबाट प्रविधि र जीवनका विभिन्न विषयमा छात्राहरूले सिक्ने छन् भन्ने विश्वास व्यक्त गर्नुभयो । ‘हाम्रो नगरमा यस्तो उपयोगी तालिम गरिदिनु भएकोमा सिक्वेल फाउण्डेसन र रूपनगर क्याम्पस दुबैलाई धन्यवाद दिन चाहन्छु,’ उहाँले भन्नुभयो ।
कञ्चनरूप १२ का वडाध्यक्ष देवि बहादुर खत्रीले तालिममा सहभागी छात्राहरूलाई आशीर्वाद दिँदै कम्प्यूटर र इण्टरनेट प्रविधिको शीप अनिवार्य भैसकेको अहिलेको युगमा प्रविधिको प्रयोग जानिएन भने पछि परिने हुँदा मन लगाएर पढ्न विद्यार्थीहरूलाई सुझाव दिनुभयो ।
रूपनगर क्याम्पसले व्यवहारिक जीवनमा अत्यावश्यक विभिन्न शीप छात्र-छात्राहरूलाई सिकाउने अभियान शुरू गरेको छ । विगत् तीन महिनामा साइबर सुरक्षा, बैँकिङ, शेयर कारोबार लगायतका विषयमा अधिमुखीकरण कार्यक्रम गरिसकेको क्याम्पसले प्रविधि सम्बन्धी अन्य विषयमा पनि छिट्टै कार्यक्रम गर्ने भएको छ । यस बारेमा जानकारी दिँदैँ क्याम्पस प्रमुख प्राध्यापक गजुजरेलले भन्नुभयो, ‘कञ्चनरूप नगरपालिका र वरपरका सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरूका लागि विभिन्न विषयमा छोटो तालिम र अभिमुखीकरण कार्यक्रम ‘डिजाइन’ गरेका छौँ । विद्यालयको सहयोग र समन्वयमा त्यस्तो तालिम आउँदो फागुनबाट शुरू गर्दैछौँ ।’
माघ १३, २०८०

Share